देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । देउडा खेललाई न्याउले पनि भनिन्छ । यस खेलमा प्राय: एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा-यूवा बीच यूवती-यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो । तिहार सकिने बितिक्कै बैतडी तथा सुदूर पश्चिममा जाँत पर्व सुरु हुन्छन् । त्यसबेला बालक देखि वृद्ध वृद्धा सम्म देउडा खेल्न ब्यस्त देखिन्छन् ।यो गौरा पर्व मा पनि खेल्ने गरिन्छ। देउडा खेल देउडी पारेर खेलिने खेल (नाच) हो । झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने देउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ । एक स्टेपमा खुट्टा पुरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकोले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई देउडा गीत भनिएको हो भन्ने भनाई छ । देउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्ति मध्य पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पुरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईटैमा डेडीको प्रमुखता भएकोले यसलाई देउडा भनिएको हो । देउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । देउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । देउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामुहगत रुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् । विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । देउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू देउडामा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा देउडियाहरू ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् । गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहरी शैलिमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । देउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । यसरी देउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टा छुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् |
साभार :
विकिपिडिया
साभार :
विकिपिडिया